Logo
Logo

भयावह कोरोना : थप चारको मृत्यु, थपिए ३३८ संक्रमित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २६ साउन । कोरोनाबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
पर्साको देवयानी गाउँपालिका १५ का ४५ वर्षीय महिलाको पनि कोभिड संक्रमणका कारण आइतबार नै नारायणी अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी काठमाडौँ महानगरपालिका–१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको सोमबार मेडिकेयर अस्पतालमा र कीर्तिपुर नगरपालिका ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
यसैबीच सोमबार उपत्यकामा थप ४४ जनामा कोरोना पुष्टि भएको छ । मुलुकका विभिन्न प्रयोगशालामा गरिएको आठ हजार ४३४ नमूना परीक्षणमा कुल ३३८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । जसमा उपत्यकाका ४४ जना रहेका छन् । काठमाडौँमा ३६, ललितपुरमा चार र भक्तपुरमा चार जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोमबार सबैभन्दा बढी बाँकेमा ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्युठानमा १५÷१५, धनुषामा १३, कपिलवस्तुमा ११, कैलाली र सल्यानमा सात÷सात, सिन्धुलीमा छ, दाङमा पाँच, नुवाकोटमा चार, महोत्तरी, बारा र गोरखामा तीन÷तीन, खोटाङ, तनहुँ, बर्दिया र नवलपरासी पूर्वमा दुई÷दुई तथा झापा, सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, बैतडी र बझाङमा एक÷एक सङ्क्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १४० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । जुन ७०.७ प्रतिशत हो । धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोनाका सक्रिय र्संक्रमित छैनन् ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७३८ रहेको मन्त्तालयले जनाएको छ । पर्सा, रौटहट, महोत्तरी र काठमाडौँमा ५०० बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिमा रहनेको संख्या १० हजार ७५९ छ ।
विश्वभर आजसम्म दुई करोड २६ लाख ४३४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सात लाख ३४ हजार २८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरोनालाई जितेर निको हुनेको संख्या एक करोड २९ हजार ७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्