काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार परिसुचक नेप्से सामान्य अङ्कले ओरालो लागेको छ । अघिल्ला दुई दिनमा सामान्य अङ्क बढेर बन्द भएको नेप्से, आज ३.९० अङ्क घटेर २६५४.७५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६७ अङ्क घटेको छ, भने फ्लोट इण्डेक्स ०.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अङ्क घटेको छ।

मङ्गलवार नेपाली धितोपत्र बजारका लगानीकर्ताहरुको आकर्षण लघुवित्त कम्पनीहरूमा देखिएको छ । पछिल्ला दिनहरूमा हाइड्रोपावर र होटल तथा पर्यटन कम्पनीहरूमा आकर्षित भएका लगानीकर्ताहरू, यस दिन भने लघुवित्त कम्पनीहरूमा सिफ्ट भएका हुन् ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेका छन् । लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरूमध्ये ४५ कम्पनीहरुको सेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १३ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३०६ स्टकको ७० हजार ७७ पटकको कारोबारमा ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ६४ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
पियोर इनर्जीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य ९९ रुपैयाँ ७० पैसा बढेर १ हजार ९७ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । यस कम्पनीको सेयरमूल्य निरन्तर ११ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, बुटवल पावर कम्पनीको सेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ४.६२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ७४ करोड ९६ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तैबुटवल पावर कम्पनीको करिब साढे ६० करोड रुपैयाँको सेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।











