काठमाडौं । मलेसियामा आगामी आइतबारबाट सुरु हुने एसिसि मेन्स यु-१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ(क्यान)ले बिहीबार विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा सुर्याशुं कोइराला रहेका छन् ।

मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । आइतबार सिंगापुरसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मङ्गलवार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
हरेक समूहबाट बिजेता र उपबिजेता सेमिफाइनल प्रवेश गर्नेछन् । दुई सेमिफाइनलका बिजेताबीच ५ जुलाई९असार २१० मा फाइनल खेल हुनेछ ।
नेपाली यु-१६ टोली
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही














