Logo
Logo

काठमाडौंमा त्रास बढ्यो


- एमपी सुब्बा


  • एमपी सुब्बा

छिमेकी मुलुक भारतले यतिखेर कोरोनाभाइरस (कोभिड–१९)कोे कहर झेल्दैछ । जहाँ दैनिक ५० हजारभन्दा बढी संक्रमित थपिरहेका छन् । अमेरिका र युरोपेली मुलुकलगायतले कोरोेना संक्रमणको उच्च महामारी झेलिरहँदा नेपाल र भारतमा संक्रमण सामान्य अवस्थामा थियो । तर, त्यही बेला कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै झण्डै पाँच महिना ‘लकडाउन’ गरियो । तर, ‘लकडाउन’ जनतालाई सास्तीबाहेक केही उपलब्धी भएन ।

उपत्यकामा दैनिक संक्रमित बढिरहेकाले ती सबै संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव नहुने अस्पतालहरुले बताइरहँदा समेत सरकारले कोभिड–१९ का लागि थप अस्पताल र आइसोलेशनको व्यवस्था गरेको छैन । अस्पतालमा भर्ना भएका ३३ प्रतिशत संक्रमितमा लक्षण देखिएको अस्पतालहरुले जनाएका छन् । उनीहरुलाई आइसोलेशनमै राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सरकारले अस्पताल र आइसोलेशन थप्ने सोच नबनाउँदा नेपालको अवस्था पनि इटली र ब्राजिलको जस्तो हुने त्रास बढ्दै गएको छ । इटलीले कोरोना भाइरसलाई वेवास्ता गर्दा भयावह स्थितिको सामना गर्नु परेको थियो । जहाँ सयौँले आइसोलेशन नपाएर सडकमै ज्यान गुमाएका थिए । त्यस्तै, अवस्था ब्राजिले पनि ब्यहोर्नुपरेको छ ।

‘लकडाउन’ नै कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको समाधान भन्ने सोचले सरकारबाट संक्रमण रोक्न पिसिआर परीक्षण, क्वारेन्टिनको व्यवस्था, आइसोलेशनलगायत स्वास्थ्यसम्बन्धी पूर्वाधारमा पर्याप्त दायरा बढाउने कार्य भएन । जसका कारण भारतमा जस्तै नेपालमा पनि हाल आएर कोरोना संक्रमण भयावह बन्दै गएको छ ।

पश्चिमा मुलकहरु कोरोना संक्रमणको भयावह अवस्थासँग लडिरहँदा भारतले ‘लकडाउन’ खुकुलो पार्ने निर्णय गर्दै सार्वजनिक रेलसेवा सञ्चालन गरेको थियो । कोरोना संक्रमणबाट बच्न कुनै सावधानी नअपनाइ रेलसेवा सञ्चालन गर्दाको नियती यतिखेर भारतले भोगिरहेको छ । भारतमा दैनिक हजारौँ संक्रमित थपिँदै गएका छन् । कोरोना नियन्त्रण हुनको सट्टा संक्रमित बढ्दै गएपछि त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले संक्रमण ‘नियन्त्रण बाहिर’ गएको भन्दै जनतामा सर्तकता अपनाउन आग्रह गरेको छ ।

भारतमा ‘लकडाउन’ खुकुलो पारिए यतामात्रै १७ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । पछिल्लो रिपोर्टअनुसार भारतमा संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ भने साढे ४३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ‘लकडाउन’ खुलाउनअघि भारतमा तीन लाखको हाराहारीमा संक्रमित थिए भने, चार हजारले ज्यान गुमाएका थिए । तर, मोदी सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरानाभाइरसलाई नै चुनौती दिँदै ‘लकडाउन’सँगै सार्वजनिक रेलसेवा समेत खुला गरेपछिको भयावह बन्दै गएको छ । यो कुरा नेपाल सरकारले पनि सिक्नु पर्ने हो । तर, उल्टै भारतले जे ग¥यो, त्यही गर्नुपर्ने नेपालले पनि अहिले आएर कोरोनाको भयावह स्थिति झेल्नुपर्ने अवस्था नजिकै आएको छ ।

नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ । झण्डै पाँच महिनासम्म ‘लकडाउन’को पीडा सहेका जनता अहिले कोरोनाको त्रासदी झेलिरहेका छन् । सरकारले ‘लकडाउन’ अन्त्य गरेर लामो समय घरभित्रै बन्दी भएका जनतालाई राहत दिने प्रयास गरेको भएपनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र त्यसको व्यवस्थापन चुस्त हुन नसक्दा यो त्रासदी निम्तिएको हो ।

‘लकडाउन’ अवधिमा कोरोना संक्रमण केही हद नियन्त्रणमा थियो । अहिलेजस्तो भयावह स्थिति थिएन । तर, जब ‘लकडाउन’ अन्त्य गरियो, तब कोरोना संक्रमण समुदायमा समेत देखिन थालेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले नेपालमा कोरोना संक्रमण भयावह बन्ने भन्दै चेतवानी दिँदै आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत ‘नेपालमा कोरोना संक्रमणको जोखिम टरेको छैन’ भनिरहेकै बेला सरकारले ‘लकडाउन’ अन्त्य गरेको थियो । ‘लकडाउन’को अन्त्य गरेपछि पनि डब्लुएचओले चेतावनी दिँदै भनिसकेको छ, ‘नेपालमा कोरोना संक्रमण भयावह बन्न सक्छ, सर्तकता अपनाउनु आवश्यक छ ।’

पछिल्लो समय देशभर दैनिक चार सयभन्दा बढी संक्रमित थपिँदै गएका छन् । त्यसमा पनि काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा पुगेको स्वास्थ्य मन्त्रालयले नै जनाइसकेको छ । पछिल्लो सातायता उपत्यकामा संक्रमित दर दैनिक ५० भन्दा माथि रहेको छ । सरकारले ‘लकडाउन’ खुलाएस“गै सार्वजनिक यातायात र बजारमा भीभभाड बढेपछि उपत्यकामा कोरोनाको जोखिम बढेको हो । कोरोनाको उच्च जोखिम रहेपनि बजारमा भीडभाड घटेको छैन । सार्वजनिक यातायातहरुमा जनस्वाथ्य र डब्लुएचओको सामान्य मापदण्ड समेत पालना गरिएको पाइँदैन । तर, सरकारले ‘लकडाउन’ अन्त्य गरिएपछिको अवस्था कस्तो छ भनेर एकपटक पनि अनुगमन गरेको पाइएको छैन । जसका कारण उपत्यकालगायत भीडभाड बढी हुने क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा २२ हजार ९७२ जना संक्रमित भएका छन् । त्यसमध्ये सोमबारसम्ममा ७५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । दैनिक संक्रमित संख्या बढ्दो छ । उस्तै, मृत्यु हुनेको संख्यामा पनि बढ्दै गएको छ । एक जनामात्रै संक्रमित हुँदा नेपालमा ‘लकडाउन’ गरिएको थियो । तर, अहिले कोरोनाबाट दैनिक दुई जनाभन्दा बढीको मृत्यु हुन थालको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ८ हजार बराबर चार सय जनामा संक्रमण भेटिएको छ । त्यसमा पनि उपत्यकामा संक्रमितको दर उच्च रहेको छ । यसरी दैनिक उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि कोभिड–१९ तोकिएका (डेडिकेटेड) अस्पतालहरुमा चाप बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा संक्रमितको भर्ना हुने संख्या बढिरहेको छ । हालसम्म उपत्यकामा मात्र संक्रमित संख्या एक हजारभन्दा बढी पुगेका छन् । संक्रमित विमारी बढ्दै गएपछि कोभिड–१९ का लागि तोकिएका देशभरका अस्पतालमा भरीभराउ भएका छन् । अस्पतालमा क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको अभाव हुन थालेको अस्पतालहरुले जनाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ५० श्ययामध्ये ४९ श्ययामा बिरामी राखेर उपचार भइरहेको छ भने पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० श्यया भरिएर थप १२ श्ययामा संक्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जनाएका छन् । पछिल्लो समय लक्षण देखिएका संक्रमित पाइएकाले श्ययाको आवश्यकता भएको उनको भनाइ छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि श्यया अभाव हुन थालेको छ । कूल ५० श्ययामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनाएका छन् । अस्पतालमा सघन उपचारकक्ष २० वटामध्ये १५ वटामा संक्रमितको उपचार भइरहेको छ ।

उपत्यकामा दैनिक संक्रमित बढिरहेकाले ती सबै संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गर्न सम्भव नहुने अस्पतालहरुले बताइरहँदा समेत सरकारले कोभिड–१९ का लागि थप अस्पताल र आइसोलेशनको व्यवस्था गरेको छैन । अस्पतालमा भर्ना भएका ३३ प्रतिशत संक्रमितमा लक्षण देखिएको अस्पतालहरुले जनाएका छन् । उनीहरुलाई आइसोलेशनमै राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, सरकारले अस्पताल र आइसोलेशन थप्ने सोच नबनाउँदा नेपालको अवस्था पनि इटली र ब्राजिलको जस्तो हुने त्रास बढ्दै गएको छ । इटलीले कोरोना भाइरसलाई वेवास्ता गर्दा भयावह स्थितिको सामना गर्नु परेको थियो । जहाँ सयौँले आइसोलेशन नपाएर सडकमै ज्यान गुमाएका थिए । त्यस्तै, अवस्था ब्राजिले पनि ब्यहोर्नुपरेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण नियन्त्रण बाहिर गइसकेको छैन । तर, नियन्त्रणका लागि आवश्यक पूर्वाधारको पनि अबलम्बन गर्न आवश्यक छ । अमेरिका, फ्रान्स, बेलायत, इटली र ब्राजिलजस्ता विकासित मुलुकहरुसमेत समयमै सर्तकता नअपनाउँदा भयावह स्थिति झेल्नुपरेको थियो । त्यसैले बेलैमा कोरोना संक्रमण नियन्त्रणमा सजकता र सर्तकता अपनाउन आवश्यक छ । हालसम्ममा विश्वमा कोरोनाबाट ७ लाख ३४ हजारभन्दा बढी ज्याना गुमाएका छन् भने २ करोड २६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्