Logo
Logo

फ्लाइओभर निर्माण हुनु गौरवको विषय हो : प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको चक्रपथअन्तर्गत कलङ्की–कोटेश्वर खण्डमा रहेको ग्वार्को फ्लाइओभरको उद्घाटन गरेका छन् । नेपालको पहिलो फ्लाइओभरको रूपमा निर्मित यो संरचना आशिष समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा निर्माण गरेको हो ।

कुल ५०० मिटर अप्रोच सडकसहितको फ्लाइओभरमा ३५ मिटर स्पानको चार लेनको पुल समावेश छ । ग्वार्को चोकको ट्राफिक जाम समाधान गर्न २०७८ सालमा निर्माण सुरु भएको यो आयोजना उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा यस्तो फ्लाइओभर निर्माण हुनु गौरवको विषय भएको बताए । 

उनले भने, “यो फ्लाइओभरले ग्वार्कोको ट्राफिक समस्या समाधान गर्नेछ र विकासको गतिलाई तीव्र बनाउनेछ ।” प्रधानमन्त्रीले सरकारले बहुआयामिक र चौतर्फी विकासमा जोड दिएको उल्लेख गर्दै सबैको सहयोगले यो सम्भव भएको बताए । उनले भने, “हामी निरन्तर विकासको बाटोमा अघि बढिरहेका छौँ । हिजो दैलेखमा ५० वर्षसम्म पुग्ने मिथेन ग्यासको भण्डार प्रमाणित भयो। धौवादी फलाम कारखाना सञ्चालनमा आएपछि नेपालमै फलाम उत्पादन हुनेछ, जसले अर्थतन्त्रलाई बलियो बनाउनेछ ।”

उनले सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गलगायतका आयोजनाले देशको मुहार फेर्ने दाबी गरे । “यी परियोजनाले रोजगारी सिर्जना गर्नुका साथै विदेश जाने मुद्रा जोगाउनेछ,” उनले भेन । साथै, कृषिको आधुनिकीकरण, नयाँ उद्योग स्थापना र प्रशासनिक सुधारमार्फत देशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।

निराशा त्यागेर आशा र सम्भावनालाई आत्मसात गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले देशले गति लिन थालेको र विकासको लहरले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्