काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीमा डा.मुकुल ढकाल नै कायम रहेको पत्र सार्वजनिक भएको विषयमा निर्वाचन आयोगले जवाफ दिनुपर्ने बताएको छ । आयोगले असार ४ गते ढकालले रास्वपाको अद्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो । यसबारे रास्वपाले खण्डन गर्दै आयोगसँग जवाफ मागेको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय समितिको २०८१ असार २५ गतेको निर्णयअनुसार पार्टी फेरबदल भएको र अभिलेख अद्यावधिक गर्न आयोगलाई सोही वर्षको साउन १७ गते निवेदन पेस गरेको बताएका छन् ।
निवेदनको सम्बन्धमा निर्वाचनबाट हेरफेर भएको विवरणअनुसार काम गर्नु र निर्वाचन आयोगसमेतले सोही हेरफेर भएको विवरण अनुसार काम गर्नेछ भन्ने सूचनाहरू दिँदै आएको झाले बताएका छन् । पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अध्याधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने झाको भनाइ छ ।
अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको ब्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको झाको भनाइ छ।