Logo
Logo

बुधबार कोरानाबाट थप पाँच जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


बुटवल, २८ साउन । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।
मृत्यु भएकामध्ये कृष्णनगर नगरपालिका­१० का २५ वर्षीय युवकलाई भने गए राति नै करिब १२ बजे कोरोना विशेष अस्पतालमा गम्भीर अवस्थामा ल्याइएकामा उपचारकै क्रममा राति २ बजे मृत्यु भएको डा खनालले जानकारी दिनुभयो । उनलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिएकाले सोहीअनुसार उपचार हुँदै गर्दा कोरोना संक्रमणको पिसीआर परीक्षण नै गर्न नपाउँदै मृत्यु भएको उनले बताए ।
कोरोना भाइरस सङ्क्रमणको लक्षणका आधारमा साउन २५ गते अस्पतालमा भर्ना भएका कपिलवस्तु नगरपालिका­२ का ४२ वर्षीय पुरुषको सोही दिन नै पिसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको डा खनालले जानकारी दिए ।
मृतक दुबैको शव दाहसंस्कारका लागि अस्पतालको तर्फबाट प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा जानकारी गराइसकिएको समेत डा खनालले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका पुरुषको नेपाली सेनाले ‘प्रोटोकल’ अनुसार गर्ने र अर्का युवकको भने प्रदेश सरकारको निर्णय अनुसार हुने उनले बताए ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका स्वास्थ्य निर्देशक डा उमाशंकर चौधरीले मृतकको दाहसंस्कारका लागि प्रशासनले प्रक्रियाअनुसार नै गर्ने बताए । उनले संक्रमण पुष्टि भई नसकेका मृतकका पनि स्वाब परीक्षणका लागि पठाइएको र रिपोर्ट आएपछि दाहसंस्कार प्रक्रिया अघि बढाइने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले मृतकको बारेमा विस्तत विवरण आएपछि निजको परिवारको चाहनाअनुसार दाहसंस्कारका कहाँ गर्ने भनी निर्णय हुने बताए ।
बुधबार नै ललितपुरमा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसहित बुधबार कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ ।
ललितपुरस्थित पाटन, किस्ट र मेडिसीटी अस्पतालमा गरेर तीन जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेस्वर गेलालले जनाए । उनका अनुसार जनकपुरको ३८ वर्षिया महिला, मेडिसीटीमा ७१ वर्षीय जनकपुरका पुरुषको मृत्यु भएको हो ।
त्यस्तै किस्ट अस्पतालमा अर्की एक जना महिलाको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । टेकुबाट रिफर गरेर पाटन अस्पताल पु¥याएकी ७८ वर्षीया महिलामा ज्वरो, झाडाबान्ता भएको थियो । उनलाई २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्