Logo
Logo

नेकपा (मसाल)को ‘संगठनात्मक शुद्धिकरण कार्यक्रम’बारे दस्तावेज पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ साउन । नेकपा (मसाल)को पार्टीको तात्कालिक संगठनात्मक अवस्था र शुद्धिकरण कार्यक्रमबारे विभिन्न दस्तावेज पारित गरेको छ । पार्टीको यही साउन २५ र २६ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्तिमार्फत केन्द्रीय समितिको बैठकमा पार्टीमा असामान्यरुपमा देखापरेको संगठनात्मक वा अनुशासनको अवस्था र शुद्धिकरण कार्यक्रमबारे छलफल गर्दै दस्तावेज पारित गरेको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिले यो ठहर गरेको छ कि पार्टीको अहिलेको संगठनात्मक र अनुशासनको अवस्था असामान्य प्रकारको छ । महाधिवेशनको बेलामा पार्टीमा तीव्र प्रकारको अन्तरसंघर्ष चलेको थियो । तर त्यो एउटा जीवन्त पार्टीको लक्षण थियो र त्यसले हाम्रो पार्टीमा भएको उच्च जनवादलाई बताउँछ ।’
महाधिवेशनपछि पार्टीमा अराजकता वा अनुशासनविहिनताका प्रवृत्तिहरू देखा पर्दै गएको र पार्टीभित्र कायम भएको अनुशासन र एकताको तुलनामा त्यो गौण पक्ष रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको माक्र्सवादी–लेनिनवादी संगठनात्मक प्रणाली र जनवादी केन्द्रीयताको सिद्धान्तका विरुद्धको कुरा हो ।’
विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण त्यसले पार्टीभित्रको अनुशासन र एकता कमजोर पार्ने र पार्टीका राजनीतिक वा संगठनात्मक जिम्मेवारीहरूलाई पूरा गर्न बाधा पुर्याउने कुरा स्पष्ट छ । त्यसैले त्यसमाथि विचार गर्न र त्यो अवस्थामा सुधार गर्न तथा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताअनुसार पार्टीभित्रको अनुशासन र एकतालाई सुदृढ पार्न बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले कैयौँ महत्त्वपूर्ण निर्णयहरु गरेको छ ।’ पार्टीले शुद्धीकरण कार्यक्रमको मुख्य उद्देश्य पार्टीमा देखापरेको अराजकता वा अनुशासनविहिनतालाई सुधार गर्नु र संगठनात्मक अवस्थालाई सुदृढ गर्नु रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्