Logo
Logo

‘लकडाउन’पछि सिन्धुली सुनसान


- दृष्टि न्युज/संवाददाता


सिन्धुली, २८ साउन । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ । मंगलबार रातिबाटै लागू हुने गरी सदरमुकामलगायत नगरका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो । लकडाउनपछि सिन्धुली सुनसान बनेको छ ।


सिन्धुली सदरमुकाममा शनिबार र आइतबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार राती १२ बजेदेखि लकडाउन गरिएको कमलामाई नगरपालिका नगरप्रमुख खड्गबहादुर खत्रीले बताए ।
नगर क्षेत्रका मुख्य राजमार्गबाहेक सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ । विपी राजमार्गमा संचालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोकलगाइएको छ ।


पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आउजाउ गर्नेहरुका कारण कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
पैदल यात्रामा समेत कडाइ गरिएको छ भने नगर क्षेत्रभर अत्यावश्यकीय सेवाबाहेक सबै सरकारी गैह्रसरकारी क्षेत्रहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द छन् । हालसम्म सिन्धुलीमा १५ सय २२ जनाको पिसिआर परिक्षणमा १९ जनमा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्