
काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा नेपालेले लगातार दोस्रो जित हात पारेको छ ।
आज बिहान मलेसियामा भएको खेलमा जापानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । जापानले दिएको ८१ रनको झिनो लक्ष्य नेपालले १४.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
दोस्रो विकेटका लागि ओपनर प्रसिद्ध जैसी र विकेट किपर शिवांश बजगाईंले ६९ बलमा ७६ रनको अविजित साझेदारी गरेपछि नेपालले सहजै जित्यो ।
प्रसिद्ध ३३ र शिवांश ३८ रनमा अविजित रहे । प्रसिद्धले ३७ बलमा ३ चौका प्रहार गर्दा शिवांशले ४२ बलमा ७ चौका हाने । अर्का ओपनर जय थापा १ रनमा क्याच आउट भए । नेपालले अब समूह चरणको तेस्रो खेलमा आइतबार इन्डोनेसियाविरुद्ध खेल्नेछ ।