काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको नेतृत्वले संसदमा अवरोध कायम रहोस् भन्ने चाहेको आरोप लगाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सरकारको यस्तो मनसाय बुझेरै आफूहरूले सदन सुचारु गरेको बताए ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा अवरोधलाई बहाना बनाएर अध्यादेशमार्फत बजेट र आफू अनुकूल कानुन ल्याउन खोजेको बताएका हुन् । ‘हामीले सरकारको नियत बुझेर सदनमा सहज वातावरण बनाएका हौँ,’उनले भने, ‘तर, हाम्रै केही नेता–कार्यकर्ताले यो कुरा नबुझेर मलाई दुख दिएका छन् । सदन खुलाउनुको कारण राम्ररी बुझ्न जरुरी छ ।’
उनले भने, ‘सरकारले अहिले पनि सदन नचलोस् भन्ने चाहेको छ। सदन भङ्ग भएमा अध्यादेशबाट बजेट र अन्य ऐन–कानुन आफू अनुकूल बनाउन चाहन्छ। हामीले यो बुझेरै सदन खुलाएका हौँ ।’ प्रचण्डका अनुसार, यदि माओवादीले चाहेको भए सदन अवरोध गर्न कुनै समस्या थिएन, तर त्यसले सरकारको योजनालाई नै सघाउने भएकाले आफूहरूले जिम्मेवार कदम चालेको उनको तर्क छ ।
यसैगरी, उनले सत्तारुढ गठबन्धनभित्र पनि दूरी बढिरहेको सङ्केत गरे । ‘सत्तामा रहेकाहरूबीचको दूरी र अन्तरलाई हामीले गहिरिएर अध्ययन गरिरहेका छौँ,’ उनले भने । माओवादीले वर्तमान राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको र यसले भविष्यमा ठोस परिणाम ल्याउने उनको दाबी छ ।
प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई सरकारको रणनीति र माओवादीको कदमबारे स्पष्ट बुझ्न आग्रह गर्दै भने, ‘हाम्रा धेरै साथीहरूले यो कुरा बुझ्न सकेनन्, तर हामीले लिएको कदमले परिणाम दिनेछ ।’














