काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई योजनाबद्ध रूपमा भ्रष्टाचारको मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ ।

शुक्रवार काठमाडौंमा सुरु भएको सचिवालय बैठकमा उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपालविरुद्ध षड्यन्त्र रचिएको बताए ।
‘पतञ्जलि योगपीठको साँगास्थित जग्गा बिक्रीसम्बन्धी मुद्दामा अध्यक्ष नेपाललाई जानाजान फसाउने प्रयास गरिएको छ,’ उनले भने, ‘हाम्रो पार्टी स्थापनादेखि नै एमालेको विद्रोहपछि लगातार प्रहार र षड्यन्त्रको सिकार हुँदै आएको छ । यो मुद्दा त्यही षड्यन्त्रको पछिल्लो कडी हो। अध्यक्ष नेपालविरुद्ध झुटो आरोप लगाइएको छ ।’
ज्वालाले यो मुद्दालाई समग्र कम्युनिस्ट आन्दोलनमाथिको आक्रमणका रूपमा व्याख्या गरे । ‘हाम्रा अध्यक्षविरुद्धको यो मुद्दा सम्पूर्ण कम्युनिस्ट आन्दोलनमाथिको प्रहार हो,’ उनले भने, ‘माधव नेपाल वर्तमान नेताहरूमध्ये सबैभन्दा स्वच्छ छविका र सरल जीवनशैलीका नेता हुनुहुन्छ । यो मुद्दा प्रतिशोधपूर्ण ढङ्गले हाम्रो पार्टीलाई कमजोर बनाउन लगाइएको हो ।’