Logo
Logo

विद्यादेवी भण्डारीले भोली राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने


1.6k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारी गरेकी छन् । उनीनिकट स्रोतका अनुसार उनले काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत यो सन्देश दिनेछिन् । 

The current image has no alternative text. The file name is: bidya-2.gif

दुई कार्यकाल राष्ट्रपतिका रूपमा शीतलनिवासबाट बिदा भएकी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने उक्त कार्यक्रमबाट आफ्नो राजनीतिक पुनरागमनको घोषणा गर्न लागेकी हुन् । राष्ट्रपतिबाट बिदाइ भएपछि उनले कोशी, लुम्बिनी, र कर्णाली प्रदेशको भ्रमण गरिसकेकी छन् भने उत्तरी छिमेकी मुलुक चीनको भ्रमणबाट फर्किएकी छन् । चिनियाँ नेताहरूले उनलाई नेपालका कम्युनिष्ट दलहरू एकजुट गराएर नेतृत्व गर्न शुभेच्छा व्यक्त गरेको बताइन्छ ।

हालसम्म उनले एमालेको सक्रिय राजनीतिमा फर्कने औपचारिक घोषणा गरेकी छैनन्, तर पार्टीका नेता–कार्यकर्तासँग उनको नियमित संवाद भइरहेको छ । भण्डारीले अध्यक्ष ओलीसँग पटक–पटक छलफल गरेकी छन्, र केही दिनअघि बालुवाटारमा भएको उनको भेटलाई एमालेमा फर्कने सङ्केतका रूपमा हेरिएको छ । 

मदन भण्डारी फाउन्डेशनको शनिवारको कार्यक्रममा भण्डारी विशेष अतिथिका रूपमा सहभागी हुँदै छिन् । एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारीले सोही मञ्चबाट राजनीतिक विषयमा सम्बोधन गर्ने र सक्रिय राजनीतिमा फर्कने विषयमा स्पष्ट सन्देश दिने बताए । 

भण्डारीको सक्रियताले एमालेबाट बाहिरिएका नेताहरू, जस्तै माधवकुमार नेपाल, भीम रावल, र वामदेव गौतम, पार्टीमा फर्कन सक्ने अनुमान गरिएको छ । भण्डारीको उपस्थितिलाई उनीहरूको पुनरागमनका लागि सहजकर्ताको भूमिकाका रूपमा हेरिएको छ । 

यसैबीच, आगामी भदौ २०–२२ मा ललितपुरको गोदावरीमा हुने एमालेको दोस्रो विधान महाधिवेशनमा ७० वर्षे उमेर हदको विषयले चर्चा पाएको छ। हाल निलम्बित उक्त उमेर हद हटाउने पक्षमा ओली छन्, तर भण्डारी यो व्यवस्था कायम राखेर ओलीलाई बिदा गर्ने पक्षमा देखिएकी छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले उमेर हद लागू गर्नुपर्ने अडान राख्दै आएका छन् । यही सन्दर्भमा भण्डारीको सक्रिय राजनीतिमा फर्कने तयारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्