काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से, आइतबार भने बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक २६.५३ अङ्क बढेर २६२२.२८ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.७० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.०५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अङ्क बढेको छ ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ७ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२८ स्टकको ७४ हजार ७५२ पटकको कारोबारमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड ६६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको सेयरमूल्य ९९ रुपैयाँ ५२ पैसा बढेर १ हजार ९५ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने, माछापुच्छ्रे बैङ्क डिबेञ्चर २०८५ को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ५.५७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा साहस उर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको करिब ३५ करोडको सेयर किनबेच भएको छ भने युनियन हाइड्रोपावरको कारोबार रकम २४ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको छ ।











