काठमाडौं । नेपालले आज एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा लाओसको सामना गर्दै छ । यो नेपाली महिला फुटबल टोलीको लाओसविरुद्धको पहिलो भेट हो । सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एसियन कपमा स्थान बनाउने लक्ष्यसहित नेपाली टोलीले आफ्नो यात्रा सुरु गर्न लागेको छ ।

नेपालले केही दिनअघि उज्वेकिस्तान पुगेर प्रशिक्षण गरेको छ । साथै, थाइल्याण्डविरुद्धको दुई मैत्रीपूर्ण खेलले टोलीको तयारीलाई थप बलियो बनाएको छ । यद्यपि, बलियो टोली थाइल्याण्डसँग नेपालले दुवै खेल गुमाएको थियो, तर ती खेलले अनुभव र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
समूह ‘एफ’ मा नेपालले लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । समूह विजेताले सन् २०२६ मा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान पक्का गर्नेछ । फिफा वरीयतामा नेपाल १००औँ र लाओस १०७औँ स्थानमा छन् । खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।














