राहतसहित गृहमन्त्री थापा पहिरो प्रभावित क्षेत्रमा


Published On : 14 August, 2020

पहिरोमा घाइते भएको उद्दार गरिँदै । रासस

काठमाडौं, ३० साउन । गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीस्थित भीषण पहिरो खसेको क्षेत्रमा राहत सामग्रीसहित गएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमा उनीसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो ।
पछिल्लो प्राप्त विवरणअनुसार पहिरामा पाँच जनाको शव भेटिएको छ । ३३ भन्दा बढी बेपत्ता छन् । त्यहाँका ३६ घर पहिरामा परेको बताइएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिराग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्कनुभएको थियो । त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो । अहिले पनि त्यहाँ नेपाली सेना र प्रहरीले उद्दार कार्य गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्