काठमाडौं । नेपालले एसिसी मेन्स यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध सहज जित निकालेको छ । मलेसियामा जारी प्रतियोगितामा आज नेपालले भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले हरायो ।

३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० रन मात्र बनायो । भुटानका अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भएको हो ।
भुटानका सुजन दावा सर्वाधिक १४ रन बनाए । ओपनर उयोग छोफेल १० रनमा आउट भए । भुटानका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा ७ रन खर्चिएर ४ विकेट लिए । सचिन भट्ट र सुयोग भट्टराईले समान २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल तयार गरेको थियो ।
रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक १ सय ६८ रनको शतकीय इनिङ खेले । नेपालले १७ रन जोड्दा २ ओपनर गुमायो ।
तेस्रो विकेटका लागि रौनकले शिवान्शं बजगाईंसँग ८४ बलमा ९१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो स्थितीमा ल्याए । शिवान्शं ५२ बलमा ५ चौकाको सहयोगमा ५४ रन बनाए । रौनक र सुगम बुढाथोकीले चौथो विकेटका लागि ६१ बलमा ७२ रनको साझेदारी गरे । सुगमले ३३ बलमा ४ चौकासहित ३५ रन जोडे ।
पाँचौँ विकेटका लागि रौनकले जोय थापासँग १ सय ३० बलमा १ सय ७० रनको साझेदारी गरे । जोय ६७ बलमा ७ चौकाको सहयोगमा ६१ रनमा अविजित रहे ।
अघिल्लो खेलमा शतक बनाएका प्रसिद्ध जैसी १४ बलमा ७ र परिमार्जन यादव २ रनमा आउट भए । भुटानका लागि संजय दोर्जेले ३ र तेन्जिन लोडेले १ विकेट लिए ।
यसअघि नै सेमिफाइनल पुगिसकेको नेपाल समूह चरणको सबै ४ खेलमा अपराजित रह्यो । यो समूहबाट दोस्रो हुँदै सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ । भुटान समूह चरणका सबै ४ खेलमा पराजित भयो।पराजित हुँदै अङ्क विहीन भएको छ ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरूलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान थिए । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार थिए । दुई समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुगेका छन्।
अर्को समूहबाट उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मलेसियाले नेपालसँग बिहीबार सेमिफाइनल खेल्नेछ ।
समूह बी बाट हङकङ समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । नेपाल प्रतियोगिताको साबिक विजेता हो । सन् २०२३ मा भएको प्रतियोगितामा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।