काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी अगस्टमा पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ टिमसँग टप इण्ड टी–ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गर्ने भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट सङ्घ (एनटी) ले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार, अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुने यो सिरिजमा नेपाल, पाकिस्तान ‘ए’ र बङ्गलादेश ‘ए’ टिमको सहभागिता पक्का भएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, नेपाली टोलीले यो सिरिजमार्फत टी–ट्वान्टी विश्वकप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । सिरिजमा नेपालले कम्तिमा ६ खेल खेल्ने तालिका रहेको छ । पाकिस्तान ‘ए’ टिमले लगातार तेस्रो पटक यो सिरिजमा सहभागिता जनाउँदै छ भने बङ्गलादेश ‘ए’ टिमले सन् २०२३ पछि दोस्रो पटक भाग लिन लागेको हो ।
सिरिजका खेलहरू डार्विनस्थित डिएक्ससी एरिना, टीआईओ स्टेडियम र काज्लिस् एरिनामा आयोजना हुनेछन् । यो सिरिज नेपालका लागि अन्तर्राष्ट्रिय स्तरको अनुभव बटुल्ने र विश्वकप छनोटको तयारीलाई थप मजबुत बनाउने अवसर हुने अपेक्षा गरिएको छ ।