Logo
Logo

‘ग्रे लिस्ट’बाट बाहिर निस्कन सुनचाँदीमा विलासिता कर


882
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल अहिले सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को ग्रे लिस्टमा रहेको र मुलुकलाई सघन निगरानी सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाउनु परेको बताएका छन् ।

विनियोजन विधेयक, २०८२ माथि राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सुनचाँदी तथा गरगहना खरिद–बिक्रीको कारोबारलाई पारदर्शी बनाउन आवश्यक रहेको बताउएका हुन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै प्रकारका गरगहना र सुनचाँदी खरिदमा विलासिता कर लगाउने निर्णय गरेको थियो ।

उनले भने, ‘पहिले पनि रु १० लाखभन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो । अहिले त्यसमा लगाइएको सीमा ९थ्रेसहोल्ड० हटाइएको मात्र हो, हामी सम्पत्ति शुद्धीकरण मामिलामा एफएटिएफको सघन निगरानी सूचीबाट बाहिर निस्कनका लागि सुनको कारोबार पारदर्शी बनाउन आवश्यक थियो । सुनलगायतका वस्तुको कारोबारमा शुद्धता होस् र सम्पत्ति शुद्धीकरणको रकम त्यहाँ लगानी नहोस् भनेर विसासिता शुल्क लगाइएको हो ।’

विलासिता करका विषयमा सुनचाँदी व्यवसायीहरुले विरोध जनाइरहेकोमा उनीहरुसँग छलफल भइरहेको र चाँडै सार्थक निष्कर्ष निस्कने विश्वास पनि उनले व्यक्त गरे ।

त्यस्तै, आगामी आवको बजेट कार्यान्वयनयोग्य रहेको दावी पनि अर्थमन्त्री पौडेलले गर्नुभयो । बजेटको स्रोत सुनिश्चितता गर्दा आन्तरिक राजस्व व्यवस्था, ऋण तथा अनुदान शीर्षकहरुको यथार्थपरक विश्लेषण गरिएको उनको भनाइ छ ।

विकास र समृद्धिको आकांक्षा पूर्ति गर्नका लागि घाटा बजेट ल्याउनु खराब नरहेको तर्क गर्नुहुँदै अर्थमन्त्री पौडेलले पुँजी निर्माणका क्षेत्रमा ऋण खर्च गर्ने नीति लिइएको दाबी गरे । उनले भने, ‘हामीले बजेट प्रस्ताव गर्दा राजस्व महत्वपूर्ण स्रोत हो । त्यसलाई यथार्थपरक ढङ्गले अनुमान गरिएको छ । आन्तरिक तथा बाह्य ऋण र अनुदानको विश्लेषण पनि सही छ, ऋणको दायरा असीमित नहोस् र धान्न नसकिने नहोस् भन्नेमा सचेत छौँ । ऋणलाई उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि खर्च गर्नुपर्नेमा हामीले जोड दिएका छौँ ।’

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको आन्तरिक ऋणको सीमाभित्रै रहेर आगामी आवको बजेट स्रोत प्रस्ताव गरिएको पनि उनले बताए । राजस्व दायरा बढाउने र दरहरुमा स्थिर नीति लिने तथा अनुमानयोग्य बनाउने तरिकाले सरकारले काम गरेको दाबी अर्थमन्त्री पौडेलले गरे । चुहावट नियन्त्रण गर्ने र आधुनिक प्रविधिको प्रयोग गरेर राजस्वका लक्ष्य हासिल गर्न सकिनेमा आशावादी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्