
काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कप प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो ।
मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टायो ।
परिमहर्जन ५९ र श्रीवांस २३ रनमा नटआउट रहे। परिमहर्जनले ३५ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर प्रसिद्ध जैसी २ रनमा क्याच आउट भए । त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली ४३.१ ओभरमा ९० रनमा अलआउट भएको थियो ।