Logo
Logo

अझै खुलेन उत्तरीनाका


1.1k
Shares

काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले रसुवा र तातोपानीमा नाकामा अघोषित नाकाबन्दी गरेपछि चीनबाट आयात भएका विभिन्न ब्राण्डका इभी गाडीहरु एक सातादेखि भन्सारमा थन्किएर बसेको छ । यस घटनालाई नेपालस्थित चिनियाँ दूतावासले गम्भीरतापूर्वक लिएको बुझिएको छ ।

तातोपानी भन्सार स्रोतका अनुसार भन्सार विभागका महानिर्देशक भट्टराईको मौखिक आदेशमा चिनियाँ गाडी रोकिएको हो । भन्सार विभागका महानिर्देशकले एक साता अगाडि जुनसुकै ब्राण्डका चिनियाँ इभी आयात भएपनि रोक्नु भन्ने मौखिक आदेश दिएका कारण चीनबाट आयात भएका इभी गाडी भन्सारले जाँचपास नगरेको हो ।

आगामी भदौ ३ देखि ८ गतेसम्म चल्ने ‘नाडा अटो शो’का लागि विभिन्न कम्पनीले चीनबाट इभी गाडी आयात गरेका थिए । ‘नाडा अटो शो’का लागि चीनबाट डीपल, अवतार, डोङफोङ, सेरेस, आयान भी, एक्सपेङ, स्काईवेल, बीवाइडी, जिनपेङ लगायतका चिनियाँ ब्राण्डका इभी गाडीहरु भन्सारमा थन्किएका छन् ।

नेपालमा पछिल्लोपटक चिनियाँ ब्राण्डका इभी गाडीप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । त्यसलाई मध्यनजर गरेर सरकारले इभी गाडीलाई प्रोत्साहन गर्न भन्सार शुल्कसमेत यथावत् राखेको छ । यस्तो अवस्थामा उत्तरीनाका नै बन्द गरेर चिनियाँ इभीलाई नेपाल प्रवेश गर्न नदिनु नेपाल–चीनबीचको सम्बन्ध बिथोल्नु हो ।

नेपालमा चिनियाँ ब्राण्डका इभीलाई निरुत्साहित गर्न यस अगाडि महालेखा परीक्षकको कार्यालयले किलो वाटका आधारमा भन्सार शुल्क लिने प्रतिवेदन तयार गरेपछि त्यसैलाई आधार बनाएर महानिर्देशक भट्टराईले उत्तरीनाका बन्द गरेका हुन् । तर, दक्षिण नाकाबाट आउने इभी तथा ननइभीलाई भने खुला राखिएको छ ।

चिनियाँ ब्राण्डका इभी गाडीहरु उत्तरी नाकाबाट मात्र होइन, दक्षिण नाकाबाट पनि भित्रिरहेका छन् । भन्सार विभागको यो द्वैध चरित्रले महानिर्देशक भट्टराईमाथि कसैको प्रभावमा परेर उत्तरीनाका बन्द गरेको आरोप छ ।

नेपालमा चिनियाँ इभीलाई निरुत्साहित गर्ने एउटा गिरोह सक्रिय भएको छ । जसको प्रभाव भन्सार विभाग, यातायात व्यवस्था विभिाग र महालेखाको कर्मचारीमा परेको स्रोतले जनाएको छ । यस विषयमा दृष्टिको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्