काठमाडौं । जसपा नेपालका मधेश प्रदेश अध्यक्ष अशोक यादवले नेपाल प्रहरीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्की दिएपछि विवाद चर्किएको छ । मलंगवास्थित पूर्वाधार कार्यालयमा राति साढे आठ बजे भुक्तानीको चेक काट्ने विषयमा भएको विवादमा दुवै पक्षबीच गालीगलौज भएको थियो ।

यादवले एसपी खड्कामाथि कमीसन लिन आएको आरोप लगाएका छन्, जसको अडियो समेत सार्वजनिक भएको छ । विवादपछि यादवलाई पक्राउ गर्न प्रहरी टोली उनको गाउँ पुगेको थियो । तर, स्थानीयले ढुंगामुढा प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयको गाडीमा क्षति पुगेको डिएसपी सरोज राईले बताए ।
प्रहरीले यादवको खोजी तीव्र पारेको छ । पूर्वाधार कार्यालयका प्रमुख विजय यादवमाथि पनि राति मात्र चेक काट्ने र कमीसन लिने गरेको आरोप लागेको छ । महेन्द्र नारायण निधि आवास कार्यक्रममा भ्रष्टाचार भएको भन्दै नेता यादवले कार्यालय प्रमुखले दिउँसो कार्यालय नआउने र राति प्रहरीको निगरानीमा चेक काट्ने गरेको दाबी गरेका छन् ।