काठमाडौं । काभ्रेपलाञ्चोक र सिन्धुलीका जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनमा थप एक महिनासम्म रोक लगाउने निर्णय गरेका छन् । यसअघि असार ७ गतेदेखि लागू हुने गरी साँझ ६:३० देखि बिहान ५:०० बजेसम्म १५ दिनका लागि यस्तो रोक लगाइएको थियो ।

मनसुनको सक्रियता र सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयहरूले यो अवधि थप ३० दिन लम्ब्याउने निर्णय गरेका हुन् । जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको बैठकले असार २२ गतेदेखि लागू हुने गरी साँझ ६:३० देखि बिहान ५:०० बजेसम्म एक महिनाका लागि बीपी राजमार्गमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
मनसुनको समयमा बाढी र पहिरोको सम्भावना उच्च रहेकाले यात्रुको सुरक्षा र विपद् जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको हो । यस निर्णयअनुसार, काभ्रेभञ्ज्याङ–भकुण्डेबेसी हुँदै सिन्धुलीतर्फ जाने सवारी साधनमा यो रोक लागू हुनेछ। यसैगरी, सिन्धुली जिल्ला प्रशासन कार्यालयले पनि असार २१ गतेदेखि साँझ ६:३० देखि बिहान ५:०० बजेसम्म ३० दिनका लागि यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
प्रशासकीय अधिकृत प्रविण कटुवालद्वारा जारी सूचनामा मनसुनको सक्रियताका कारण यो निर्णय लिइएको उल्लेख छ । यसअघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै १५ दिनका लागि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।