
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा लागेका आरोपविरुद्धको हस्ताक्षर अभियानमा नेपाली चलचित्र उद्योगका चर्चित कलाकारहरूको उल्लेख्य सहभागिता देखिएको छ ।
शुक्रबार काठमाडौंको माइतीघरमा आयोजित हस्ताक्षर अभियानमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले ऐक्यबद्धता जनाएका छन् ।
यो अभियान रास्वपाले लामिछानेमाथि लगाइएको आरोपलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै सुरु गरेको हो । हस्ताक्षर अभियानमा सहभागी हुने कलाकारहरूमा अभिनेता रमेश उप्रेती, खगेन्द्र लामिछाने, निर्माता अशोक शर्मा, निर्देशक दीपेन्द्र के खनाल, गायक खेम सेन्चुरी, हास्य कलाकार किरण केसी, रङ्गकर्मी राजाराम पौडेल, चलचित्र पत्रकार प्रकाश सुवेदीलगायत छन् ।
यी कलाकारहरूले लामिछानेको पक्षमा हस्ताक्षर गर्दै उनलाई निर्दोष रहेको र उनमाथिको कारबाही अनुचित भएको दाबी गरेका छन् ।
रास्वपाले गत जेठ ८ गते पार्टी स्थापना दिवसको अवसरमा माइतीघरबाट यो हस्ताक्षर अभियान सुरु गरेको थियो । अभियानको नेतृत्व कार्यवाहक सभापति डीपी अर्यालले गरेका हुन् । रास्वपाका नेता दीपक बोहोराले यो अभियानलाई ‘जनताको अदालत’ मा रविमाथिको मुद्दा पु¥याउने उद्देश्य रहेको बताएका छन् ।
रास्वपाको यो अभियान देशका विभिन्न ठाउँमा सञ्चालनमा रहेको छ । हस्ताक्षर अभियानमा विभिन्न ठाउँबाट रास्वपाले सोचेँजस्तै साथ पनि पाइरहेको छ । जसमा कलाकार देखि लिएर आम मानिस र विभिन्न राजनीतिक दलका व्यक्तिहरुले पनि हस्ताक्षर गरिरहेका छन् ।
लामिछाने हाल सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा छन् । उनमाथि कास्की, चितवन, रुपन्देही, पर्सा र काठमाडौंका विभिन्न अदालतमा सहकारी ठगी र सङ्गठित अपराधका मुद्दा दायर भएका छन् । पर्सा जिल्ला अदालतमा उनको मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
यद्यपि, रास्वपाले यी सबै मुद्दाहरूलाई सरकार र विपक्षी दलहरूको नियोजित षड्यन्त्रको रूपमा चित्रण गरेको छ । कार्यक्रममा सहभागी अभिनेता रमेश उप्रेतीले भने, ‘रविजीले सधैँ जनताको पक्षमा आवाज उठाउनुभयो । उहाँमाथिको यो कारबाही अन्यायपूर्ण छ । हामी कलाकारहरूले पनि उनको समर्थनमा हस्ताक्षर गरेर सत्यको पक्षमा उभिनुपर्छ ।’ यस्तै, गायक खेम सेन्चुरीले रविको लोकप्रियता र जनताको समर्थनले उनको निर्दोषिता स्पष्ट भएको दाबी गरे ।
हस्ताक्षर अभियानमा सहभागी हुने कलाकारहरूले सामाजिक सञ्जालमार्फत पनि रविको पक्षमा समर्थन जनाइरहेका छन् ।
केहीले यो अभियानलाई रविको व्यक्तिगत छवि जोगाउने प्रयासको रूपमा आलोचनासमेत गरेका छन् ।