Logo
Logo

सरकारको कामकारबाही विस्तृत शान्ति सम्झौताको भावनाविपरीत छ : प्रचण्ड


693
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र, शान्ति प्रक्रिया र मुलुकको परिवर्तनमा दिवङ्गत गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । कोइरालाको १०२औं जन्मजयन्तीका अवसरमा शुक्रबार शीतलनिवासमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाही जनताको अपेक्षा र विस्तृत शान्ति सम्झौताको भावनाविपरीत रहेको बताए । 

The current image has no alternative text. The file name is: prachand-1.gif

प्रचण्डले शान्ति सम्झौतामार्फत जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयनमा गम्भीरता नदेखिएको उल्लेख गरे । ‘हामीले जनतासँग जे कबुल गरेका थियौँ, के हामी त्यतैतिर अघि बढेका छौं ?’ उनले प्रश्न गर्दै कोइरालाले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई लागू गर्न नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिलेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही र सरकारका गतिविधिले लोकतन्त्र र परिवर्तनको जनअपेक्षा पूरा भएको छैन ।’ जनताको भावना र समस्या बुझ्न आफू हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा निस्किएको बताउँदै प्रचण्डले जनतामा असन्तुष्टि बढिरहेको बताए । 

 ‘जनताको हितलाई निष्ठापूर्वक प्राथमिकता नदिए स्थिति गम्भीर हुनेछ,’ उनले भने । उनले सरकार, संसद् र न्यायालयको कामकारबाहीमाथि गम्भीर समीक्षा आवश्यक रहेको जोड दिए । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरू सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्