काठमाडौं । उपभोक्ता अदालतको आदेशविरुद्ध नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । विभिन्न अस्पताल र चिकित्सकमाथि अदालतले गरेको कारबाहीको विरोधमा संघले यो कदम चालेको हो।

संघले सरोकारवाला संस्थाहरूसँगको छलफलपछि आज आन्दोलनको तालिका सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार पर्सि २२ गते आइतबार सबै चिकित्सकले आ–आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिनेछन् । त्यस्तै, सोमबार देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिनेछ ।
यसैगरी, २४ गते संघले चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी काउन्सिलमा बुझाउने भएको छ । उपभोक्ता अदालतले उपचारमा लापरबाही भएको भन्दै तीनवटा अस्पताल र चिकित्सकविरुद्ध जरिवाना र कारबाहीको फैसला गरेपछि संघले विरोध जनाउँदै आएको छ ।

