काठमाडौं । जनता समाजावादी पार्टी (जसपा)का मधेस प्रदेश समिति अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेर प्रहरीले खोजि सुरु गरेको हो ।

यादवलाई तत्काल पक्राउ गर्न जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिट खटाइएको सर्लाही जिल्ला प्रहरी कार्यालय प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरीले खाजिरहेको छ । तर अहिलेसम्म उनी पक्राउ परेका छैनन् ।
जसपाका मधेस प्रदेश अध्यक्ष यादवले टेलिफोनमा एसपी खड्कालाई ‘तराईमा लुट्न आएको लुटेरा’ भनेर धम्क्याइरहेको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आपराधिक उपद्रव कसुरमा सर्लाही जिल्ला अदालतले शुक्रबारमात्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीका अनुसार रातिको समय सर्लाहीस्थित भौतिक पूर्वाधार कार्यालयमा सुरक्षा दिँदा अध्यक्ष यादवले एसपीलाई धम्क्याएका थिए । सार्वजनिक अडिओमा यादवले प्रहरीलाई किन त्यहाँ सुरक्षा दिएको ? भन्दै तथानाम गाली गरेका छन ।