काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । शनिवार काठमाडौंमा आयोजित अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ विमोचन तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि २४सै घण्टा सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

उनले ठमेल, पोखरा, सौराहा जस्ता पर्यटकीय क्षेत्रहरू राति ९ बजेपछि बन्द हुँदा पर्यटकको आकर्षण घट्ने उल्लेख गरे । ‘पर्यटकहरू राति ९ बजे सुत्न नेपाल आउने होइनन् । सुरक्षाको कारण देखाएर बन्द गर्नुको सट्टा विशेष प्रहरी व्यवस्था गरी पर्यटकीय क्षेत्रहरू २४सै घण्टा खुला राख्नुपर्छ,’ उनले भने ।
पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै यसको विस्तारले रोजगारी सिर्जना, व्यवसाय प्रवर्द्धन र समग्र आर्थिक विकासमा योगदान पुग्ने धारणा राखे । ‘भारतबाट विवाहलगायतका अवसरका लागि नेपाल आउने सम्भावना ठुलो छ, तर यसका लागि व्यवस्थापन र पूर्वाधारलाई चुस्त बनाउनुपर्छ,’ उनले भने ।