काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही प्रगति भए पनि अपेक्षित स्तरमा काम हुन नसकेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई देशमा सङ्कट आएको वा देश पूर्ण रूपमा बर्बाद भएको जस्ता अतिशयोक्तिपूर्ण कुरामा विश्वास नगर्न आग्रह गरे ।

‘कसैले देशमा खतरा आएको छ भनेर भन्छ भने त्यसलाई नपत्याउनुस्,’ थापाले भने, ‘तर देश बर्बाद भयो, सबै सकियो भनेर भन्ने कुरामा पनि विश्वास नगर्नुस् । दुवै अतिरञ्जित छन् ।देशमा केही राम्रा काम भएका छन्, तर पर्याप्त भएको छैन । राम्रो कामको कदर गर्नुस्, तर कमी कमजोरीमा प्रश्न पनि उठाउनुस् । बाँकी काम म गर्छु भनेर जिम्मेवारी लिनुस् । नथाक्नुस्, नभाग्नुस्, अडिग रहनुस् । नयाँ कुरा सिक्नुस्, आलोचनात्मक बन्नुस् र रमाइलो पनि गर्नुस्।’
थापाले भावी पुस्ताले आफूहरूले भन्दा उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे ।