काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व। नेता गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धलाई स्मरण गरेका छन् । शनिवार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले कोइरालासँगको उतारचढावपूर्ण सम्बन्धबारे खुलेर कुरा गरे ।

देउवाले कोइरालासँग विभिन्न समयमा मतभेद र झगडा भएको खुलासा गरे । ‘स्व। गिरिजाबाबु र मेरो बीचमा झगडा भएको कुरा सबैलाई थाहा छ । उहाँले मलाई पार्टीबाट निष्कासन गर्नुभयो, मैले पनि आफ्नै पार्टी खोलेँ,’ उनले भने ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पदबाट र कोइरालाले पार्टीबाट निष्कासन गरेपछि देउवाले उनीहरूलाई एकै ठानेको बताए । ‘मैले त्यतिबेला भनेको थिएँ, गिरिजा र ज्ञानेन्द्र एउटै हुन् । एकले पार्टीबाट निकाले, अर्कोले प्रधानमन्त्रीबाट,’ उनले सम्झिए, ‘त्यस्तो थियो हाम्रो सम्बन्ध । तर, पछि राजाले शाही आयोग बनाएर मलाई जेल हाल्यो । मैले अस्वीकार गरेँ ।’जेलबाट छुटेपछि कोइरालासँगको सम्बन्ध सुधार भएको देउवाले बताए ।
‘जेलबाट छुटेपछि गिरिजाबाबुले मिल्नुपर्छ भन्नुभयो, र हामीबीच सम्बन्ध बन्यो,’ उनले भने, ‘गिरिजाबाबु हिम्मतिलो र गणतन्त्र ल्याउनमा मुख्य योगदान दिने नेता हुन् ।’