
काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएकोप्रति असन्तुष्टि जनाएको छ । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) बस्ने तय भएको सिनेट बैठक स्थगित गर्न निर्देशन दिएपछि कांग्रेसले असन्तुष्टि जनाएको होे ।
केन्द्रीय कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय नभएको बताए ।
उनले भने, ‘१५ चैतदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त छ । यसबेला प्रधानमन्त्रीको निर्देशनमा त्रिवि सभाको वार्षिक बैठक रोकिनु शोभनीय विषय होइन ।’ विश्वविद्यालय प्राज्ञिक थलो भएकाले यसलाई वार्षिक क्यालेन्डरअनुसार नै अगाडि बढाउनुपर्ने उनको धारणा छ ।
त्रिविले तिथिअनुसार वार्षिक सभा डाक्ने गर्छ । प्रधानमन्त्री ओली स्पेन भ्रमणमा रहेकाले असार शुक्ल नवमी (शुक्रबार) मा हुनुपर्ने बैठक आइतबारका लागि तय भएको थियो । तर, आज पनि फेरि प्रधानमन्त्रीको निर्देशनमा स्थगित भएपछि कांग्रेस रुष्ट बनेको हो ।