
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए)लाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको बताएका छन् ।
अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गर्दै मन्त्री पाण्डेले विमानस्थलको सेवा सुधारका लागि कार्ययोजनाका साथ अघि बढेको विश्वास व्यक्त गरे ।
उनले भने, ‘टिआइएलाई व्यवस्थित बनाउन धेरै प्रयास गरिरहेका छौँ, विमानस्थलको साजसज्जा तथा सेवालाई चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम अगाडि सारिएको छ, विमानस्थलमा अध्यागमन, भन्सार, सुरक्षा निकाय, एयरलाइन्स आदि अन्तरसरोकारवाला निकाय रहेकाले सबैको प्रतिनिधित्व हुनेगरी विमानस्थलका महाप्रबन्धकको नेतृत्वमा सुधार कार्ययोजनाका लागि समिति बनाइएको छ, समितिको कार्ययोजनासहितको प्रतिवेदन चाँडो ल्याएर सेवा सुधारका लागि मन्त्रालयले थप ताकेता गर्नेछ ।’
उनले टिआइए क्षेत्रको सीमितताका कारण साँघुरो भएकाले यात्रु व्यवस्थापनलगायत काममा कठिनाइ भइरहेको स्पष्ट पारे ।
‘अरु देशको तुलनामा टिआइए साँघुरो छ, टर्मिनललगायत भौतिक पूर्वाधार पर्याप्त छैनन्, ‘स्पेस’को सीमितताले विमानस्थल, टर्मिनल भवन नजिक नजिक रहेकाले यात्रुहरु छिट्टै टर्मिनल भवनमा आइपुग्ने र लगेज ल्याउन धेरै समय लागेको जस्तो देखिने गरेको छ, अरु देशका यात्रु विमानबाट ओर्लिएर टर्मिनल आइपुग्न निकै समय लाग्छ, यसले गर्दा धेरै समय कुर्नुपरे जस्तो देखिन्छ’, उनले भने ।
पर्यटनमन्त्री पाण्डेले टिआइएको क्षमता रु ४५ लाख यात्रुलाई ओहोरदोहोर गराउने भए पनि यस वर्ष ९५ लाख यात्रुहरू ओहोरदोहोर गराइसकेको जानकारी दिँदै झण्डै दोब्बर क्षमताको यात्रुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका बीच पनि विमानस्थलको सेवालाई सहज र प्रभावकारी बनाउन लागिपरेको बताए ।
मानसरोवर जाने पर्यटकका लागि भिसा प्रक्रिया सहजीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ दूतावाससँग पहल गरिने पनि उनले विश्वास व्यक्त गरे ।