काठमाडौं । पहिलो संविधानसभाको निर्वाचनको माहोल चलिरहँदा रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाले फेरि चर्चा पाएको छ । भारतको बिहार, सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार, जो उक्त घटनामा गम्भीर घाइते भएका थिए ।

उनले काठमाडौं आएर आफ्नो पीडा सुनाएका छन् । नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको र त्यसमा परेर आफू घाइते भएको उनले बताए । गौरीशंकर राजा इँटाभट्टामा मजदुर थिए । पैसा लिन आलमको घर पुग्दा बम विस्फोट भएको उनले आइतबार काठमाडौंको रिपोर्टर्स क्लबमा बताए ।
विस्फोटमा उनको दुवै कान उड्यो, अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो । ‘म ढोकामा पुग्नासाथ बम पड्कियो, आगो लाग्यो, पछाडिको पानीमा हाम फालेर भागेँ,’ उनले भने । सीतामढीको अस्पतालमा तीन महिना उपचार गर्दा साढे ३ लाख भारतीय रुपैयाँ खर्च भयो । तर आलमले कुनै सहयोग नगरेको उनको गुनासो छ ।
उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण अभावमा आलमलाई सफाइ दिएपछि गौरीशंकरले न्याय नपाएको महसुस गरेका छन् । अदालतले बम विस्फोटकै पुष्टि नभएको जनाएको थियो । गौरीशंकरले भने, ‘आलमको घरमा बम पड्किएको हो, मलाई अन्याय भयो ।’ उनले आलमका मान्छेले धम्की दिएको र आफ्नो ज्यान जोखिममा रहेको बताए । शारीरिक अवस्था कमजोर भएकाले काम गर्न नसक्ने र बाँच्न कठिन भएको उनको दुखेसो छ । गौरीशंकरले सरकारसँग दोषीलाई कडा सजायको माग गरेका छन् ।