काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २.४० अङ्कले बढेर २७०६.३६ विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६७ अङ्क घटेको छ । फ्लोट इण्डेक्स ०.२३ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अङ्क घटेको छ।

कारोबार रकम भने सामान्य घटेको छ । गत बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज २४९ स्टकको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब ५० करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
आइतबार नेपाल फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको सेयरमूल्य ६९ रुपैयाँ ४० पैसा बढेर ७६३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, १२ प्रतिशत गुडवल फाइन्स डिवेञ्चरको मूल्य ८.८७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैङ्कको सेयर मूल्य ८.५८ प्रतिशतले घटेको हो भने सिन्धु विकास बैङ्कको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४९ करोड ४० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, लक्ष्मी सनराइज बैङ्कको संस्थापक सेयर ३७ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । अन्य परिसूचक सर्वाधिक ३।०६ प्रतिशत बढेको छ । त्यसतै, वित्त उपसमूहको परिसूचक २.४९ प्रतिशतले बढेको हो । बैङ्किङ, लगानी, उत्पादन तथा प्रर्शोधन, व्यपार समूहको सूचक सकारात्मक छ । विकास बैङ्क हाईड्रोपावर र जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत भन्दा बढीले घटेको हो ।