काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु सुवेदी बस्नेतले शिक्षा समितिको बैठक बारम्बार स्थगित गर्नु र समय माग्नुमा गम्भीर षड्यन्त्र भइरहेको आरोप लगाएकी छिन् । आइतबारको समिति बैठकमा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्।उनले भनिन्, ‘समितिको बैठक पटक-पटक स्थगित हुने र समय माग्ने प्रवृत्तिको कारण स्पष्ट छैन । यसमा कुनै धन्दा वा षड्यन्त्र भइरहेको महसुस भएको छ ।’

विद्यालय शिक्षा विधेयकमा पाँच दिनको छलफलपछि ६०/४० को सहमति भइसकेको अवस्थामा फेरि समय माग्नु सकारात्मक सङ्केत नभएको उनको भनाइ छ । उनले शिक्षक महासंघको मागलाई गम्भीरतापूर्वक लिएको पनि बताइन् ।
उनले समितिमा दलको भूमिकालाई अन्य दलका सांसदले प्रस्तुत गर्ने तरिका उचित नभएको गुनासो गरिन् । ‘दलको भूमिकालाई समितिमा ल्याउनु स्वीकार्य हुँदैन,’ उनले भनिन्, ‘शिक्षक महासंघको विषयलाई हामीले गम्भीरतापूर्वक उठाएका छौँ । ‘
उनले समिति बैठकमा इसीडी शिक्षक र द्वन्द्वपीडित शिक्षकको अवस्थाबारे प्रश्न उठाउँदै विद्यालय शिक्षा विधेयकलाई तत्काल अघि बढाउन छलफल आवश्यक रहेको माग गरिन् ।