काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले २३ असार (सोमबार)देखि २९ असारसम्म कुखुराको चल्ला उत्पादन र बिक्री–वितरण पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको संघको बैठकले बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्रीमा एक साता रोक लगाउने निर्णय गरेको हो ।

संघका अनुसार, चल्ला उत्पादक किसानले लागतअनुसार उचित मूल्य नपाएको र बजारमा मागभन्दा बढी उत्पादन भएको समस्याका कारण यो कदम चालिएको हो ।
संघका अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा देखिएको संकट र चल्लाको मूल्य लागतभन्दा निकै कम भएको अवस्थालाई मध्यनजर गर्दै उत्पादन र बिक्री बन्द गर्ने निर्णय गरिएको बताए । यो कदमले बजारमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ छ । हाल नेपालमा बोइलर फार्मिङ गर्ने किसान करिब ६०० छन् । दुई वर्षअघिसम्म ३५० भन्दा बढी ह्याचरी उद्योग संघमा आबद्ध थिए, तर अहिले यो संख्या १०० भन्दा कममा झरेको छ ।
हाल साप्ताहिक बजार माग २०–२२ लाख चल्ला मात्रै छ, तर उत्पादन ३०–३५ लाखसम्म पुग्छ । बिक्री नभएका चल्लालाई दाना खुवाउन र बैङ्कको ब्याज तिर्नसमेत किसानलाई कठिनाइ भइरहेको छ । दुई महिनाअघिसम्म प्रतिचल्ला ५५–६० रुपैयाँमा बिक्री हुने गरेकोमा अहिले २०–२५ रुपैयाँमा पनि बिक्री नहुने अवस्था आएको छ ।
