काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले न्यायपालिकाको पछिल्लो कामकारबाही र फैसलाहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । आइतबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले हालै संवैधानिक निकायमा ५२ जनाको नियुक्तिसम्बन्धी गरेको फैसलालाई लक्षित गर्दै सिटौलाले न्यायपालिकाको कार्यशैलीमाथि प्रश्न उठाए । उनले भने, ‘चार वर्षअघि दर्ता भएको यो मुद्दामा अहिले आएर फैसला भएको छ । तर, प्रधानन्यायाधीशसमेत अल्पमतमा परे । संविधानले प्रधानन्यायाधीशको नेतृत्वमा न्याय निरूपण हुने व्यवस्था गरेको छ, तर यस्तो गम्भीर मुद्दामा न्यायाधीशहरूबीच बहुमत र अल्पमतको स्थिति देखिनु चिन्ताजनक छ ।’
सिटौलाले जिल्ला, उच्च, विशेष र सर्वोच्च अदालतको कामबारे समीक्षा गर्नुपर्ने बेला आएको बताए । उनले भने, ‘न्यायपालिकाको कामकारबाही मात्र होइन, संवैधानिक र कूटनीतिक नियुक्तिहरूमाथि पनि प्रश्न उठ्ने अवस्था आएको छ । यस्ता विषयमा गम्भीर समीक्षा जरुरी छ ।’