Logo
Logo

ओलीका ‘कटु ओलोचक’ बालेनलाई विद्याले निवासमै स्वागत गरेपछि एमालेमा तरंग


24.7k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको हो ।

भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए । विद्या र बालेनबीच भेटवार्ताको समाचार बाहिरिएपछि एमालेमा तरंग उत्पन्न भएको छ । भेटमा समसामयिक विषयमा कुराकानी भएको जनाएको छ ।

भण्डारीले काठमाडौं महानगरले बजेट ल्याउन नसकेका विषयमा चासो राखेकी जनाइएको छ । जवाफमा बालेनले पनि बजेटका विषयमा महानगर भित्रकै आन्तरिक कारणले बजेट आउन नसकेको बताएका जनाइएको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन् । बालेन भण्डारीबीचको भेटलाई विशेष चासोको रूपमा हेरिएको छ ।

बालेनको राजनीतिमा आउने विषयले स्थान पाइरहेको समयमा यो भेटलाई लिएर नेपाली राजनीतिमा पनि तरंग छाएको छ । बालेनको काठमाडौं महानगरको मेयर निर्वाचित भएको केही समय एमाले अध्यक्ष ओलीसँग राम्रो सम्बन्ध थियो । तर, सम्बन्ध धेरै लामो समय टिक्न सकेन ।

बालेन र ओली केहिसमयपछि नै एक अर्काका राजनीतिक प्रतिद्धोन्दी जस्तै बने । समयसँगै न्यूरोडको फुटपाथ विस्तार, धरहरा विवाद, र भ्रष्टाचारविरुद्ध बालेनको अभियानले दुई नेताबीच तनाव बढायो । बालेनले सामाजिक सञ्जालमार्फत ओलीमाथि भ्रष्टाचारको आरोप लगाए, विशेष गरी गिरिबन्धु टी–इस्टेट प्रकरणलाई लिएर । जवाफमा, ओलीले बालेनको नाम नलिई उनको आलोचना गर्दै ‘एउटा केटो’ भन्दै कार्यकर्तालाई सम्पूर्ण अस्त्र प्रयोग गर्नू निर्देशन दिए ।

ओली र बालेन बिचको सम्बन्ध एकले अर्काको मुखै नहेर्नसम्म पुग्यो । ओली गएको ठाउँमा बालेनले जानै छोडे । बालेनका समर्थक र एमाले कार्यकर्ताबीच सामाजिक सञ्जालमा तीव्र कटाक्ष र आरोप–प्रत्यारोप चलिनै रहन्छ ।

एमालेभित्र भण्डारीको राजनीतिमा पुनरागमले तरंग ल्याइरहेको समयमा बालेनले भेट्नुलाई विशेष चासोको रूपमा हेरिएको छ । कुनै राजनीतिक पार्टीका नेताहरूलाई चासो नै नदिने बालेनले भण्डारीलाई उनकै निवासमा भेटेको कुराले स्थान पाउनु स्वाभाविकै भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले भण्डारीको पुनरागमनलाई व्यक्तिगत चाहनाभन्दा बाह्य हल्लाको उपज ठान्छन् । उनीहरूले ओलीको नेतृत्वमा कुनै चुनौती नभएको र भण्डारीको भूमिका सहयोगी मात्र हुने दाबी गरेका छन् । एमाले भित्रका तेस्रो धारले भण्डारीको भूमिका र प्रभावबारे स्पष्टता नआएसम्म तटस्थ रहने रणनीति अपनाएको छ ।

केही नेताहरूले एमालेलाई एकताबद्ध बनाएर लैजानेमा भण्डारीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै आएका छन् । यसरी भण्डारीले पार्टीमा रहेका वा पार्टी बाहिरका विभिन्न समूह तथा व्याक्तिहरुलाई मिलाएर लैजाने हो भने, भण्डारी एमालेको भावी नेतृत्व बन्ने वा ओलीको एकलौटी हाबी हुने चाहनालाई बाधक बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्