Logo
Logo

युनुश अन्सारीको मुद्धा हेर्दाहेर्दैमा


756
Shares

काठमाडौं । भारतीय जाली नोट कारोबारी युनुश अन्सारीको सम्पत्ति शुद्धीकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा अन्सारीको बयान भएको हो । बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि भोलि सोमबार सुनुवाइ हुनेगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

२०७६ जेठ १० मा ७ करोड ७६ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी ६ वर्षको कैद सजाय भुक्तानपछि गत जेठ १० गते नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिई सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गरेको थियो ।

सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

नेशनल टेलिभिजनको अध्यक्ष रहेको बेला प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ११ करोड ६२ लाख रुपैयाँ खातामा जम्मा भएको तथा ११ करोड ३७ लाख रुपैयाँ भुक्तानी भएको देखिएपछि उनी विरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान गरिएको थियो । खातामा भएका कारोबार हेर्दा अस्वाभाविक कारोबार देखिएकाले अन्सारीले सम्पत्ति शुद्धीकरणको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्