काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का मधेश समितिका अध्यक्ष अशोक यादवले ‘मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने’ बताएका छन् । पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै यस्तो आपतिजनक अभिव्यक्ति दिएका हुन् ।

उनले भिडियोमा भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार, जय नेपाल, जय भारत’ भन्दै भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीसँग याचना गरेका छन् ।
उनले भारत र नेपालको निष्ठाको लडाइँ लडिरहेको बताउँदै भनेका छन्, ‘अशोक यादव, श्रीराम र माँ जानकी धरोहर हुन्, त्यसलाई बचाउनका लागि लडिरहेको छु । बिहारका छोरीहरु जसको नेपालमा बिहे हुन्छ, उनको र उनीहरुका बच्चाको नागरिकता बन्दैन, म त्यसको लडाइँ लडिरहेको छु । म सितामढीको एसपीसँग बिहारको पुलिस अधिकारी सबैसँग अनुरोध गर्दछु कि नेपालका एसपीले भनेको आधारमा कुनै पनि कदम नउठाउनु ।’
नेता यादवले नेपालका शासकमा नश्लीय चिन्तन रहेको समेत आरोप लगाएका छन् । मधेशीलाई दोस्रो नागरिकको दर्जा दिइएको भन्दै उनले मधेश अलग हुन आवश्यक रहेको पटक–पटक आफूले सोंचेको बताएका छन् ।
सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई टेलिफोनमा धम्की दिएपछि उनीमाथि पक्राउ पूर्जी जारी भएको छ । त्यसपछि फरार रहेका यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् ।














