काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिको छानबिन गर्न संसदले विशेष समिति गठन गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले विधेयकमा उल्लेखित कुलिङ पिरियडसम्बन्धी छेडखानीको अध्ययन तथा छानबिनका लागि सात सदस्यीय संसदीय विशेष समिति बनाएको हो ।

सभामुख देवराज घिमिरेले प्रस्ताव गरेको उक्त समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, नेकपा ९एमाले० बाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन् । समितिको संयोजकमा सांसद जीवन परियारलाई तोकिएको छ । सभामुख घिमिरेले विशेष समितिलाई त्रुटि छानबिन गर्न २१ दिनको समयावधि दिइएको जानकारी दिए ।
समितिलाई प्रतिवेदनमा भएको छेडखानीमा कसैको संलग्नता पाइए प्रचलित कानुनअनुसार कारबाहीको सिफारिस गर्ने कार्यादेश दिइएको छ । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियडको व्यवस्था थियो । तर, प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमा छेडखानी भएको पाइएपछि विभिन्न दलका सांसदहरूले छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका थिए ।














