काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केही सञ्चार माध्यममा प्रकाशित ‘बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव’ शीर्षकको समाचारप्रति खण्डन गरेको छ । उक्त समाचारमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर एमालेसँग वाम एकताको प्रस्ताव राखेको उल्लेख गरिएको थियो ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा माओवादी केन्द्रको एमालेसँग एकता गर्ने कुनै नीति वा सोच नरहेको स्पष्ट पारिएको छ । साथै, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति भण्डारीसँग एमालेसँगको एकताका लागि भेट गरेको भन्ने कुरा पार्टीमा कुनै जानकारी नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चाका घटकहरूसँग एकताको विषयमा छलफलल चलिरहेको भए पनि एमालेसँग एकताको कुनै चर्चा नभएको र यस्ता तथ्यहीन प्रचारबाट भ्रममा नपर्न पार्टी पङ्क्ति र आम जनसमुदायमा अपिल गरिएको छ ।’ माओवादी केन्द्रले यो विज्ञप्तिमार्फत यस्ता आधारहीन समाचारको सत्यता स्पष्ट गर्दै भ्रममा नपर्न आग्रह गरेको छ ।














