काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बारम्बार प्रधानमन्त्री परिवर्तन हुने प्रवृत्तिलाई अन्त्य गरी स्थायी सरकार गठनमा जोड दिनुपर्ने बताएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई पाँच वर्षसम्म स्थिर राख्ने उपायबारे पाँच बुँदे प्रस्ताव पेस गरेका छन् । उनले भने, ‘विगत ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष कार्यकाल पूरा गर्न सकेका छैनन् । संविधान संशोधन गर्दा स्थिर सरकारका लागि नयाँ दृष्टिकोण आवश्यक छ। यसका लागि मैले पाँच वटा प्रस्ताव राखेको छु ।’
प्रस्तावहरू :
१. आम निर्वाचनमा प्रत्यक्ष सिट र लोकप्रिय मतका आधारमा पहिलो हुने दलले सरकारको नेतृत्व गर्ने। दोस्रो, तेस्रो वा अन्य दल पूर्ण कार्यकाल विपक्षमा रहने ।
२. पहिलो दलले सामान्य बहुमत प्राप्त नगरेको अवस्थामा, ‘जित्नेले सबै लैजाने’ सिद्धान्तअनुसार निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको विज्ञहरूको सूचीबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने ।
३. पहिलो दलले संसदीय दलको नेतृत्वमा छानिएको सांसद प्रधानमन्त्री बन्ने। प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा निश्चित सङ्ख्यामा विज्ञहरूलाई प्रत्यक्ष रूपमा समावेश गर्न सक्ने।
४. प्रधानमन्त्रीले शपथ लिएको १० दिनभित्र संसद्मा विश्वासको मत लिने। दुई वर्ष पूरा भएपछि एक महिनाभित्र पुनः विश्वासको मत लिने। दोस्रो विश्वासको मत लिँदा दुई वर्षको आर्थिक र सामाजिक सूचकहरूका आधारमा विश्वासको मत प्राप्त हुने वा नहुने निर्क्योल हुने। विश्वासको मत प्राप्त भएमा प्रधानमन्त्रीले बाँकी कार्यकाल नेतृत्व गर्ने।
५.कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने।














