
काठमाडौं । धादिङको बेनिघाट नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ । आज बिहान करिब ९ बजेतिर रोराङ गाउँपालिका–७, चरौंदीस्थित त्रिशुली नदी किनारमा दाहसंस्कार गरिँदै गरेको शवको चिता नै बाढीले बगाएको हो ।
रोराङ ७ का वडाअध्यक्ष कुमार बस्नेतले आज बिहान त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएकोे जानकारी दिए । उनले जल्दै गरेको शवसहितको चिता बाढीमा बग्दै गरेको भिडियो समेत सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
गाउँपालिकाले नदी किनार क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्पूर्ण पालिका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
चीनबाट आएको बाढीमा परेर रसुवामा कम्तिमा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन् ।
सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ । सोही बाढीको प्रभाव त्रिशूली नदीमा पनि देखिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ले जानकारी दिए ।














