काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीतिको सङ्कुचनका कारण मौद्रिक नीति संयमित र सन्तुलित रूपमा ल्याउनुपर्ने सुझाव दिएका छन् । बुधवार संसद्को अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।

पुनका अनुसार, वित्त नीतिमा देखिएको सङ्कुचनले आवधिक योजनामा राखिएका लक्ष्यहरू भन्दा बजेटको आकार सानो हुँदै गएको छ । नयाँ गभर्नर नियुक्त भएसँगै निजी क्षेत्रले मौद्रिक नीतिमा सुधार र गतिशीलता (डिपार्चर) को अपेक्षा गरेको उनले बताए । ‘नयाँ गभर्नरप्रति निजी क्षेत्रको अपेक्षा उच्च छ । मौद्रिक नीति संयमित तर प्रभावकारी हुनुपर्छ, अत्यधिक लचिलो होइन,’ पुनले भने, ‘विगतमा लचिलो नीतिका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ । मौद्रिक नीतिले नियमनलाई जोड दिनुपर्छ र सरकारले प्राथमिकतामा राखेका स्टार्टअपलाई प्रोत्साहन गर्नुपर्छ ।’
उनले मौद्रिक नीतिले सरकारका नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्नेमा जोड दिए । साथै, मुद्रास्फीति नियन्त्रणमा देखिए पनि सर्वसाधारण र मजदुरले त्यसको अनुभूति गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले यो विषयमा ध्यान दिनुपर्ने बताए ।
‘मौद्रिक नीति सन्तुलित र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने खालको हुनुपर्छ,’ उनले भने । साथै, मुलुक सङ्घीयतामा गए पनि वित्तीय संस्थाहरू अझै त्यसअनुरूप अनुकूल नभएको भन्दै आगामी मौद्रिक नीतिले यो पक्षमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।











