काठमाडौं । बुधवार नेप्से परिसूचक बढेर बन्द भएको छ । गत साताको आइतबारदेखि बढेको नेप्से यस साताको सोमबार र मङ्गलवार घटेर बन्द भएको थियो । तर, बुधवार पुनः नेप्से बढेर बन्द भएको छ ।

नेप्से परिसूचक २२.०४ अङ्क बढेर २७०५.९० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.७६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८१ अङ्क बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् मङ्गलवार साढे ६ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा बुधवार ३१६ स्टकको ६२ हजार ८८४ पटकको कारोबारमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँबराबरको १ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
बरुण हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.२१ प्रतिशत बढेको छ । त्यस्तै, पञ्चकन्या माइ हाइड्रोपावरका सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्यसर्वाधिक ४.४१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ७१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, बुटवल पावर कम्पनीको साढे ३६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ३५ करोड नाघेको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ । त्यस्तै,लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ । बुधवार वित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो ।











