काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार बुधवार बढेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक २५.८९ अङ्क बढेर २७३१.८० विन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.५५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अङ्क बढेको छ । यो अङ्क २८ फागुनयताकै उच्च हो । सो दिन २७३६ अङ्कमा रहेको बजार त्यसयता २७३० भन्दा तल रहँदै आएको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार करिब साढे ७ अर्बको सेयर खरिदबिक्री भएको बजारमा ३१२ स्टकको ८८ हजार ६१५ पटकको कारोबारमा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड ६४ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
माइ खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ८.१५ प्रतिशत बढेको छ । त्यस्तै, माण्डु हाइड्रोपावर, समता लघुवित्त वित्तीय संस्था र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयरमूल्य सर्वाधिक ९.९२ प्रतिशत घटेको छ ।
कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ५ लाख ७७ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको साढे ३२ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने सानिमा बैङ्कको करिब साढे २६ करोडको सेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । व्यापार र जलविद्युत उपसमूहको परिसूचक सामान्य घटेको छ ।











