काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रोक्न आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै उनले एनपीएलको दोस्रो संस्करण आयोजक संस्था नेपाल क्रिकेट सङ्घ (क्यान) मार्फत नियमअनुसार सञ्चालन हुने अपेक्षा रहेको बताए । उनले आफूमाथि प्रतियोगिता रोक्न संलग्न भएको भनी गरिएको प्रचारप्रति असन्तुष्टि व्यक्त गरे ।
‘एनपीएलको दोस्रो संस्करण क्यानबाट नियमसंगत रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ । यसलाई रोक्न मेरो कुनै संलग्नता छैन भन्ने गलत प्रचार गरिएको छ,’ मन्त्री चौधरीले भने । एनपीएलको पहिलो संस्करणको आर्थिक कारोबारलगायतका विषयमा उठेका प्रश्नहरूलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत फागुन १२ गते उजुरी परेको थियो। उक्त उजुरीको आधारमा मन्त्री चौधरीले दुई दिनपछि मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन कार्यदल गठन गरेका थिए। उनले कार्यदलले असार २५ गते प्रतिवेदन बुझाइसकेको र मन्त्रालयले त्यसको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने जानकारी दिए ।
यद्यपि, बिहीबार कार्यदलकी संयोजक रञ्जना प्रधानले राजीनामा दिएकी थिइन् । मन्त्री चौधरीले यो विषयलाई अनावश्यक रूपमा अतिरञ्जित गरिएको दाबी गरे । उनले एनपीएलको आगामी संस्करण निरन्तरताको पक्षमा कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको बताए । ‘गलत प्रचारले क्रिकेटप्रेमी, खेलाडी र टिमको मनोबल कमजोर बनाउँछ। त्यसैले यस्ता गलत प्रचार नगर्न सबैमा अनुरोध गर्छु,’ उनले भने । साथै, खेलकुद सङ्घ र महासङ्घको आर्थिक तथा प्रशासनिक गतिविधि पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए ।











