Logo
Logo

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ३ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन उहाँको निधन भएको थियो । तीस वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुभएको थियो । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उहाँले नै पाउनुभएको छ ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गर्नुभएको रामायण विसं १९४१ मा छापेर सार्वजनिक गर्नुभएको थियो । भानुभक्तलाई चर्चामा ल्याउने काम उहाँले गर्नुभएको थियो । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाउनुभएको नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताउनुभयो । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेख्नुभएका गजल व्यङ्ग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हे¥यो त्यतै मेरो नजर्मा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उहाँका गजलका नमूना हुन् ।

प्रतिक्रिया दिनुहोस्