काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से आज घटेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक ३५.०९ अंक घटेर २७२५.७१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.८३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अङ्क घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार करिब साढे ११ अर्ब रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२१ स्टकको ७२ हजार ६०१ पटकको कारोबारमा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको २ करोड ११ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
माइ खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.९० अङ्क प्रतिशत बढेको छ । त्यस्तै, १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.४६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ३९ करोडको सेयर किनबेच भएको छ भने सानिमा बैङ्कको कारोबार रकम २४ करोड ७५ लाख रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । जलविद्युत उपसमूहको परिसूचक ०.१५ प्रतिशत बढेको हो । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैङ्क, वित्त, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
मौद्रिक नीति सेयर बजारअनुकूल आए पनि बढेन बजार
मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो दिन नेप्से २९ अङ्क बढ्यो । तर सो वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार नै बजार ३५.०९ अङ्क घटेको छ । आजको गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अङ्क बढेकाले सोमबार नाफा बुक भएको पाइन्छ । १२ असारमा बजार २५९५ अङ्कसम्म झरेको थियो ।











